२ मिनेटभित्रै बस डुबेको ठाउँमा पुगेर रिभर गाइडहरुले बचाए कयौंको ज्यान !

२ मिनेटभित्रै बस डुबेको ठाउँमा पुगे

सोनाम तामाङ, रिभर गाइड
सुनकोसीबीच रिसोर्ट सुकुटे


हामी केही साथीहरू सुकुटेबीच रिसोर्टभित्रै बसिरहेका थियौं, रिसोर्ट नजिकै बस सुनकोसी नदीमा खसेको जानकारी हुनासाथ म बोट लिएर बस खसेको स्थानमा गएँ । म पुग्दा यात्रुहरूको कोलाहल थियो । केही यात्रु बसमाथि उक्लिसकेका थिए भने केही बसभित्रैबाट ‘बचाऊ बचाऊ’ भनिरहेका थिए, म पुग्नासाथ धेरैले बसभित्रैबाट बचाउन आग्रह गर्दै हात दिइरहेका थिए । मैले सकेसम्म सबैलाई निकाल्ने प्रयास गरेँ । केही समयपछि अरू रिसोर्टका गाइडहरू पनि आएपछि हामी सबै भएर घाइतेलाई बसभित्रबाट निकालेर सडकमा ल्याउन सफल भयौं । गाडी डुबेको स्थानमा पुग्दा त्यहाँको दृश्य असाध्यै कारुणिक थियो, बच्चाहरू रोइरहेका थिए, वृद्धाहरू मलाई बचाइदेऊ भनिरहेका थिए । उत्तानो परेको बसमाथि १०÷१२ जना जति यात्रु कराइरहेका थिए । हामी रिभर गाइडहरू समयमा नै बोट लिएर त्यहाँ पुगेकाले ठूलो मानव क्षति हुनबाट जागाउन सक्यौं ।

झ्यालबाट निस्किएँ, अरूलाई पनि बचायौं
लोकबहादुर थापा, घाइते


तिहार मनाउन घर गएका म र श्रीमतीसहित बिहान साढे ११ बजे लामोसाँघु जिरी सडकको १२ किलोबाट बसमा चढेका थियौं । सिट सबै भरिएकाले हामी उभिएका थियौं । अरनिको राजमार्गको भैंसेनजिकै खाना खाएर बस हिँडेको ५ मिनेटभित्रै बस सुनकोसी नदीमा खसेको थियो । हामी उभिरहेका थियौं । गड्याङ आवाज आएको मात्रै थाहा भयो, त्यसपछि बस नदीमा डुबिसके छ ।

बस दुई बल्ड्याङ खाँदै नदीमा पस्यो । म झ्यालबाट बाहिर निस्कें, मसहित अरू १० जना जति बाहिर निस्क्यांै । मैले मात्रै १० जना जतिलाई तानेर बाहिर निकालें । सबै निकालेपछि श्रीमती कतै देखिनँ, अनि बल्ल श्रीमतीलाई पनि देखेर बाहिर निकालें । मलाई धेरै चोट लागेको छैन, श्रीमतीको हात भाँचिएको छ । बसमा सिट फुल र १५ जना जति उभिएका थिए । बस एकदमै स्पिडमा थियो ।

-राजधानी दैनिकबाट 

प्रकाशित : सोमबार, कार्तिक १८, २०७६०२:५९

दैनिक उपभोग्य सामानको भाउ आकाशियो, कुनको मूल्य कति पुग्यो ?