भीमदत्तनगर, २० पुस : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्ता रुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउनु भएको छ । प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्त नगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गर्नुभयो ।
“प्रतिनिधि सभा हुँदै अब राष्ट्रिय सभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ”, उहाँले भन्नुभयो, “जन भावना अनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।” अहिले जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उहाँले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटक सामु पुर्याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको एक इन्जिन हो”, उहाँले भन्नुभयो, “यसलाई गतिशील बनाउन आवश्यक छ ।”
भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उहाँले त्यसका लागि अहिले उपयुक्त समय भएको बताउनुभयो । “आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ”, उहाँले भन्नुभयो, “छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।”
प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्त नगरमा पत्रकार सम्मेलन आयोजना गरेको हो।