१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने

काठमाडौं, नेपालमा बसेर चीनमा अपराध गरेको आरोपम पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ । दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो । पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ । ५० हजार रुपैयाँसम्म जरिवाना अध्यागमनले उनीहरूलाई गर्न सक्छ ।

दुईवटा चार्टर्ड विमान ल्याउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ । चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर लैजान लागिएको हो । उनीहरूको निष्कासन प्रक्रियाबाट छलफल गर्न चिनियाँ दूतावासका अधिकारीहरू सोमबार अध्यागमन विभाग पुगेका थिए ।

गृहलाई चिनियाँ दूतावासको पत्र
पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय हुँदै गृहमा पत्र आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । पत्रमा उनीहरूलाई लैजाने सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

नेपाल र चीनबीच सुपुर्दगी छैन, जसकारण उनीहरूलाई औपचारिक रूपमा नेपालले चीनलाई बुझाउनेछैन । अपराध गरेर लुक्न नेपाल आएका अन्य देशका नागरिकलाई पनि नेपालले यसैगरी सम्बन्धित देशलाई बुझाउने गर्छ । नेपालमा अपाराध गरेर विदेशमा पक्राउ परेका नेपालीलाई पनि सोही प्रक्रियामार्फत नेपाल ल्याएर अभियोजन हुने गरेको छ ।

घर भाडामा लिएर इन्टरनेटमार्फत जुवा
गत ७ पुसमा पक्राउ परेका चिनियाँहरूले काठमाडौंमा घर भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए । त्यसबापत हजारौँ चिनियाँ पीडित भएपछि चीनले नै नेपाली अधिकारीलाई सूचना दिएर यस्तो अपरेसनको आग्रह गरेको थियो । तर, योजनाअनुसार अपरेसन सफल हुन सकेन । थोरै मात्र पक्राउ परेको र सयौँ चिनियाँ भाग्न सफल भएका छन् । यसअघि मलेसिया, कम्बोडियालगायत देशबाट समेत चीनले यसैगरी आफ्ना देशका नागरिकलाई पक्राउ गरी स्वदेश लगेर कारबाही गरेको थियो ।

दृष्टि साप्ताहिकबाट

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६०८:२४

नेपाल भ्रमणवर्ष २०२०: भ्रमण वर्षअघि नै घटे पर्यटक