इकार्डीको ह्याट्रिक, नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे । एक गोल उपहार पाएको थियो । योहान कावायले सान्त्वना गोल फर्काए । खेलको दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा वेस्ले फोफाना दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट इटिएन १० खेलाडीमा सीमित बन्यो । फोफानाले डि मारियालाई फउल गर्न पुगेका थिए ।  इटिएन १० खेलाडीमा समेटिएको फाइदा पीएसजीले उठायो ।

३९औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा जेसी मौलिनले आत्मघाती गोल गरेपछि पीएसजी पहिलो हाफमा ४–० ले अघि बढेको थियो । ४९औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी खेलमा ५–० ले अघि बढ्यो । एम्बाप्पेकै पासमा इकार्डीले ५७औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

६७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ६–० को फराकिलो जिततर्फ अग्रसर गराए । ७१औं मिनेटमा योहान काबायीले गोल गरेपनि सेन्ट इटिएन ६–१ ले पराजित हुन पुग्यो ।

बुधबार राति नै लिलले एमेन्सलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । यससँगै फ्रेन्च कपमा सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । प्रतियोगितामा पीएसजीसँगै स्टेड रेम्स, लियोन र लिल सेमिफाइनलमा पुग्न सफल भए । सेमिफाइनलको तालिका सार्वजनिक भएको छैन ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६०४:०३

पर्थविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलबर्नको सानदार जित !