मनमोहनलाई ‘सेल्टर’ दिने सतालसिंहकाे उपचार अभावमा निधन, जीविकाका लागि चलाउनथे रिक्सा

सांकेतिक तस्विर

पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उहाँको अन्त्येष्टि गरिएको छ ।

झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउनुहुन्छ । सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउनुहुन्थ्यो ।

घाँटीमा ट्युमर भएका उहाँलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो । उपचार गर्न नपाउँदै उहाँको निधन भएको छ । सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन् । उहाँ माइली छोरीसँग बस्दै आउनुभएको थियो ।

निरन्तर पार्टीमा समर्पित सतालसिंह झापावासी तथा मेचीनगरका एक होनहार कम्युनिष्ट आन्दोलनका योद्धा रहेको प्रदेशसभा सदस्य गोपाल बुढाथोकी बताउनुहुन्छ ।

प्रकाशित : शुक्रबार, पुष २५, २०७६०३:१०

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक: बिजुक्छे