डोटीमा छाउ गोठ भत्काउने अभियान : १८ छाउगोठ भत्काइयो !

डोटी – एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए÷नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै उक्त गाउँपालिकाको वडा नं ३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठ स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले आफँै छाउपडी गोठ खोज्दै हिँडेको छ, छाउपडी गोठ देख्नेबित्तिकै भत्काउन आदेश दिएको छु, केही ठाउँमा स्थानीयले आफैँ भत्काउन थालेका छन् ।” प्रहरीले सञ्चालन गरेको उक्त अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लामा भएका छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छाउगोठ कहाँकहाँ कती छन् गोप्यरुपमा सूचना लिएर त्यसैका आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ, अब छाउगोठ बनाउनेलाई कारवाही गर्छु ।” डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारीरुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शिर निहुरिने गरेको छ, छाउपडी गोठ बनाउनेविरुद्ध सशक्तरुपमा उत्रिनेछौँ ।” त्यस्तै आफ्नो गाउँपालिकामा छाउपडी अन्त्य गर्न तथा छाउगोठ भत्काउनका लागि प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ, छाउगोठ भत्काउन सबैले सहमति जनाएका छन् ।” जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछ भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीय तहलाई पत्राचारसमेत गरेको छ । जिल्लामा कम्तीमा पनि १०० को हाराहारीमा छाउगोठ हुनसक्ने सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको अनुमान रहेको छ ।

प्रकाशित : आइतबार, पुष २७, २०७६१५:२९

क्रिकेट रङ्गशाला निर्माण गर्न रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै