सुरक्षा कार्यविधि मिच्दै नेता : कार्यविधि विपरीत १८ नेताका लागि २३९ सुरक्षाकर्मी परिचालन !

काठमाडौं । सरकारले बनाएको कार्यविधि विपरीत नेता र विशिष्ठ व्यक्तिको सुरक्षामा ७२७ प्रहरी परिचालन भएको खुलेको छ । पूर्वप्रधानमन्त्री, पूर्व–उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वसभामुखहरूले कार्यविधि विपरीत सुरक्षाकर्मी राखिएको पाइएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्रीले मात्र ९५ जना प्रहरी कार्यविधि विपरीत राखेका छन् । जसमध्ये सबैभन्दा बढी सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका हुन् । उनले कार्यविधि विपरीत ५६ जना प्रहरी राखेका छन् । सुरक्षाका लागि प्रहरी अपुग भइरहेका वेला नेताको सुरक्षामा ठूलो फौज नै खटिएको छ ।

पूर्वप्रधानमन्त्रीले मात्र ९५ जना प्रहरी कार्यविधि विपरीत राखेका छन् । पूर्व–उपप्रधानमन्त्रीहरूले पनि १०९ जना सुरक्षाकर्मी बढी राखेको पाइएको छ । पूर्व गृहमन्त्रीले त सुरक्षा नै नपाउने व्यवस्था भएपनि २ जनाले २७ जना राखेका छन्

उनको सुरक्षामा ७७ जना सुरक्षाकर्मी खटिएका छन् । सरकारी कार्यविधिअनुसार सबै पूर्वप्रधानमन्त्रीहरूले ९ जना मात्रै सुरक्षाकर्मी पाउँछन् । यद्यपि विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २०६८ जेठ २५ को निर्णयअनुसार २६ जनासम्म खटाउने व्यवस्था छ । २०७४ माघ २२ गतेको मन्त्रिपरिषद् बैठकले २६ जनालाई यथावत् राख्ने निर्णय गरेको थियो । प्रचण्डको सुरक्षामा मन्त्रिपरिषद्को निर्णयभन्दा ५६ जना बढी सुरक्षाकर्मी खटिएका छन् ।

कार्यविधि मिचेर सुरक्षाकर्मी राख्नेमा प्रमुख प्रतिपक्षी दलका नेता एवम कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो नम्बरमा छन् । देउवाले ३८ जना सुरक्षाकर्मी राखेका छन् । प्रहरी नायब उपरीक्षकको कमाण्डमा देउवा परिवारलाई २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय भएको थियो ।

आफैले गरेको निर्णयभन्दा हाल उनले १८ जना बढी सुरक्षाकर्मी राखेका छन् । पूर्वप्रधामन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ९, अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ८, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले १ र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ३ सुरक्षाकर्मी बढी लिएका छन् ।

पूर्व–उपप्रधानमन्त्रीहरूले पनि १०९ जना सुरक्षाकर्मी बढी राखेको पाइएको छ । कार्यविधिअनुसार पूर्व–उपप्रधानमन्त्रीले दुई जनामात्र सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरेको छ । तर, गृह स्रोतका अनुसार ९ जना पूर्व–उपप्रधानमन्त्रीले १०९ जना बढी सुरक्षाकर्मी राखेका हुन् । गोपालमान श्रेष्ठले ७, विजयकुमार गच्छदारले १०, कमल थापाले १३, विमलेन्द्र निधिले १० जना बढी सुरक्षाकर्मी राखेका छन् ।

कार्यविधिअनुसार आफ्नो कार्यकाल सकिएको ३ वर्षसम्म पूर्व–उपप्रधानमन्त्रीहरूले २ जना सुरक्षाकर्मीहरू मात्रै पाउँछन् । पूर्व–उपप्रधानमन्त्री एवं कांग्रेस सांसद प्रकाशमान सिंहले १७ जना सुरक्षाकर्मी राखेका छन् । कार्यविधिअनुसार उनले सुरक्षाकर्मी नै पाउँदैनन् । पूर्व–उपप्रधामन्त्री एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यविधि विपरीत ११ जना सुरक्षाकर्मी राखेका छन् ।

अर्का उपप्रधामन्त्री नारायणकाजी श्रेष्ठले १४ सुरक्षाकर्मी राखेका छन् । पूर्व–उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेब गौतमको सुरक्षामा १६ जना खटिएका छन् । पूर्व–उपप्रधानमन्त्री भीम रावलले १८ जना सुरक्षाकर्मी राखेका छन् ।

पूर्वगृहमन्त्रीहरूले पनि कार्यविधि विपरीत सुरक्षाकर्मी राखिएको पाइएको छ । गृह स्रोतका अनुसार जनार्दन शर्माले १५ जना, पूर्णबहादुर खड्काले १२ जना सुरक्षाकर्मी राखेका छन् । कार्यविधिअनुसार उनीहरूले सुरक्षाकर्मी नै राख्न पाउँदैनन् ।

पूर्वसभामुख ओनशरी घर्तीले ८ जना बढी सुरक्षाकर्मी राखेकी छन् । पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्व सुरक्षा प्रमुख र पूर्वसचिव लगायतको निवास गरी ९६ स्थानमा सुरक्षाकर्मी खटिएका छन् । कार्यविधिअनुसार उनीहरूको सुरक्षामा ७७ जना मात्रै सुरक्षाकर्मी खटिनुपर्ने हो तर, ६ सय ५ सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६०३:४०

पूर्वमा पनि पेट्रोलियम पाइपलाइन : सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याइने !