काठमाडौँ – युएईको आबुधाबीमा बिहिबार भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने मध्ये ३ जना नेपाली रहेको खुल्न आएको छ।
बिहिबार बिहान साढे पाँच बजे आसपासको समयमा कामदार काममा जानेक्रममा कामदार सवार गाडी दुर्घटनामा परेको थियो। रसफाइ सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका कामदार बोकेको उक्त गाडीमा अधिकांश नेपाली सवार थिए। दुर्घटना आबुधाबीको अल रहा भन्ने स्थानमा भएको बताइएको छ।
दुर्घटनामा ६ जनाको ज्यान गएकोमा ३ नेपाली छन्। ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको बताइएको छ। अमिसा मोक्तान तामाङको भने ठेगाना खुल्न सकेको छैन। दुर्घटनामा परी अन्य मुलुकका तीन कामदारको पनि ज्यान गएको छ।
नेपाली दूतावास अबुधाबीका अनुसार दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र ठेगाना नखुलेका सुजला विश्वकर्मा रहेका छन्।
घाइते मध्ये १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ। घाइते मध्येकी एक महिला पनि उपचार पछि फर्किसकेकी छन्।
आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस चालकको लापरवाहीले दुर्घटनामा परेको स्थानीय प्रहरीको भनाई छ। सामाजिक संजालमा उक्त दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ। आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडियोमा बस एक लरीमा ठोक्किएको देखिएको छ।