चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।
वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
गैँडाकोटमा नयाँ होटल सञ्चालन
भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो ।
यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित छ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न आठ वटा सुपर डिलक्स कोठा रहेका छन् । जग्गा भाडामा लिएर रु सात करोड लगानी गरी होटल सञ्चालनमा ल्याइएको हो ।
काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यको बिचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पु¥याउने विश्वास गरिएको छ ।