पर्यटक बोकेको बस ट्रकमा ठोक्किएपछि घरमा जोतियो, ३३ घाइते !

सांकेतिक तस्विर

चितवन – भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।

पहिरो खस्यो नारायणगढ मुग्लिन सडकखण्डमा

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६०७:४१

सुदूरपश्चिममा चौथो पटक हिमपात, तापक्रम ह्वातै घट्यो !