जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको ज्यान गएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
एकै दिन ५५ छोरीको बीमा
प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ ।
विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ ।
नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए।
शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए। छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।