–भीष्मराज ओझा
काठमाडौँ – पछिल्लो समय मुलुकभर खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ । बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि अनुसन्धान गरी अल्पकालीन र दीर्घकालीन उपाय सुझाइएको छ ।
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले एक वर्ष लगाएर गरेको अनुसन्धानबाट बाँदर हिँड्ने बाटोमा ऐना राख्दा ऐनामा आफूजस्तै तस्बिर देखेर बाँदर डराएर पछाडि फर्केको देखिएको हो । यसैगरी बाँदरको बाटोमा बाघ तथा चितुवासहितको ‘ब्यानर’ तथा ‘डमी’ राख्दा पनि बालीनालीमा बाँदरको प्रवेश रोक्न प्रभावकारी देखिएको छ ।
यी अल्पकालीन उपायसँगै बाँदर हिँड्ने मार्गमा अम्रिसो, सिस्नुजस्ता बिरुवा लगाउने, बाँदरले नखाने वैकल्पिकखेती जस्तै कागती, तेजपात, खेती गर्ने र बाँदरको आहारका लागि वनजङ्जलमा अम्बा, अमला, सिप्लीगाना, रुखकटहर जामुनलगायतका बिरुवा रोप्ने दीर्घकालीन उपाय पनि सुझाइएको फाउण्डेसनका अनुसन्धानकर्ता सञ्जन थापाले बताए। फाउण्डेसनले सन् २०१९ को अवधिभर विश्व वन्यजन्तु कोषको सहयोग तथा स्थानीय तह र जिल्ला डिभिजन वन कार्यालयको समन्वयमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित जसपुर र प्यूरी दोभान स्थानमा अनुसन्धान गरेको थियो ।
अनुसन्धानमा बालीनाली काट्ने समयमा जङ्गलमा बाँदरका लागि आहारका रुपमा फलफूल राख्दा, बाँदर हिँड्ने बाटोमा साउण्ड बक्समार्फत बाघ, चितुवा र कुुकुरको आवाज बजाउँदा तथा पानीको फोहोरा राखेको र ती उपाय भने प्रभावकारी नदेखिएको फाउण्डेसनेले जनाएको छ । फाउण्डेसनेले अनुसन्धानमा देखिएका तथ्यका बारेमा आज यस क्षेत्रका विज्ञ र सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको हो ।
फाउण्डेसनले सो क्षेत्रमा सिसिटिभी क्यामेराबाट बाँदरको आवातजावत र क्रियाकलाप अनुगमन गरेको थियो । बाँदरको बासस्थान अतिक्रमण भएको, बाँदरका लागि खाने आहारा फलफूलको कमी भएपछि सहजरूपमा आहारको खोजीमा कृषि तथा बालीनालीमा पस्न लागेको अनुसन्धानबाट देखिएको हो । अनुसन्धानपछि सरकारी तहमा यो विषयले बहस तथा प्राथमिकता पाउने अनुसन्धानकर्ता थापाले बताए ।
बाँदरको सङ्ख्या धेरै भएकाले मार्नुपर्छ भन्ने आवाज पनि आएको सम्बन्धमा उनी भन्नुहुन्छ, “बाँदर मार्नका लागि कानून पनि चाहियो र सङ्ख्याका बारेमा आधिकारिक यथार्थ तथ्याङ्क पनि हुनुपर्छ ।” यद्यपि मुलुकभर मानव–बाँदरबीच द्वन्द्व बढेकाले बाँदरको सङ्ख्या पनि बढेको हुनसक्ने अनुमान छ । मानवस्तीमा प्रवेश गर्ने बाँदरको समस्या समाधानका लागि वन्युजन्तु पार्कमा चितुवालगायत वन्यजन्तुको आहारको रुपमा बाँदरलाई राख्न सकिने बारेमा पनि बहस नभएको होइन ।
कुनै पनि वन्यजन्तुको सङ्ख्या आवश्यक भन्दा बढ्यो र मानवलाई हानी पु¥यायो भने अनुसन्धान गरेर निश्चित सङ्ख्यालाई मार्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ । तर व्यवस्थापन गर्न सकिने सङ्ख्यालाई भने विभिन्न अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरी समाधान गर्नुपर्ने अनुसन्धानकर्ता थापाको तर्क छ । बाँदरको समस्या समाधानका लागि कृषकले परम्परागत रुपमा ढुङ्गा हानेर बाँदरलाई लख्टने, गुलेली हानेर भगाउने, कुरुवा बसेर धपाउने, कुकुरबाट धपाउनेलगायत उपाय गर्दै आएका छन् । यसले एकातिर समय र श्रम धेरै खर्च हुँदैआएको तथा अर्काेतिर मानिसलाई पनि बाँदरको आक्रमणको पनि सम्भावना रहेको अनुसन्धानमा खटिनुभएका फाउण्डेसनकी योजना अधिकृत सविता गुरुङले बताइन् ।
फाउण्डेसनले अनुसन्धानका क्रममा विभिन्न प्रजातिका पाँच हजार भन्दा बढी बिरुवा वितरण तथा रोपण गरेको थियो । “त्यसमध्ये बाँदरका लागि आहारका रुपमा सो क्षेत्रको जङ्गलमा अम्बा, अमला, सिप्लीगाना, रुखकटहर, जामुनलगायत बिरुवा स्थानीयवासीको सहयोगमा रोपण ग¥यौ, त्यस्तै कृषकका लागि तेजपात, कागती, अम्रिसोलगायत वैकल्पिक खेती गर्न सुझायौं” योजना अधिकृत गुरुङले भनिन् । बाँदरले मुलुकभर मकैलाई सबैभन्दा बढी नाश गर्ने गरेको छ ।
बाँदरले बालीनाली नाश गर्ने क्रममा धपाउँदा महिलालाई आक्रमण गर्ने गरेको पनि भेटिएको छ । फाउण्डेसनले अनुसन्धानका क्रममा बाँदरले आक्रमण गर्दा रेविज सुई लगाउनुपर्ने स्थानीयबवासीमा सचेतना पनि जगाएको योजना अधिकृत गुरुङले जानकारी दिइन् । पारिस्थितिकीय प्रणालीमा बाँदरका क्रियाकलापले रुख तथा बिरुवा हल्लाएर फलफलमा परागसेचन हुने, बिरुवाको बियाँ एक ठाउँबाट अर्काे स्थानमा पु्ग्ने, जमीनमा हिँड्ने वन्यजन्तुका लागि रुखमाथिका पात र फलफूल झारेर उपलब्ध गराउनेलगायत बहुआयामिक महत्व छन् ।