भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

काठमाडौँ – बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मनामास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा भ्रमण वर्ष अभियानको शुभारम्भ गर्दै सचिव खालिफाले पर्यटनको माध्यमबाट नेपालको आर्थिक समुन्नति हुने धारणा व्यक्त गरे। उनले नेपाल र बहराइनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा निकट रही सहकार्य गरिरहेकामा खुशी व्यक्त गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सोही दिन राजदूतावासले नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ४३ औँ वर्षगाँठको कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा बहराइनका लागि नेपालका राजदूत पदम सुन्दासले नेपालका पर्यटकीय आकर्षणस्थलको उपयोग गर्ने उद्देश्यले भ्रमण वर्षलाई सफल बनाउन आह्वान गरे। त्यसैगरी नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध सौहार्द्रपूर्ण रहेको भन्दै उनले पर्यटन, पूर्वाधार, वाणिज्य तथा मानव संसाधन क्षेत्रमा दुवै राष्ट्रले सहकार्य बढाउँदै लानुपर्ने बताए। बहराइन सरकारका उच्चपदस्थ कर्मचारी, व्यापारी र त्यहाँ खुलेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि सहभागी सो कार्यक्रममा भ्रमण वर्षको ब्यानर र चित्र राखिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजदूत सुन्दासले भ्रमण वर्ष अभियान सफल बनाउन दूतावासले वर्षभरि विभिन्न कार्यक्रम गर्ने जानकारी दिए। राजदूत सुन्दासले आगामी अप्रिल २–४ मा काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा बहराइनबाट उच्च तहको सहभागिताका लागि अनुरोध गरेका छन् ।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६१३:४९

रेल चालक र सहचालक बन्ने हो ? यस्तो छ आवश्यक योग्यता !