एमसिसी परियोजनामा सैन्य संलग्नता छैन – अमेरिकी दूतावास

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नरहेको प्रस्ट पारेको छ । एमसिसीको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलगायत अन्य पार्टीका प्रभावकारी नेताहरुबाट विरोध भइरहेको बेला अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गरी परियोजनामा सैन्य संलग्नता नरहेको जनाएको हो ।

दूतावासले सो परियोजना विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै विद्युत् लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको स्पष्ट पारेको छ । “अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ, एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन, एमसिसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नुपर्दैन”, विज्ञप्तिमा भनिएको छ ।

नेपालका प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसिसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेकाले अमेरिकाले सो परियोजना अगाडि बढाएको दूतावासको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन, वा कुनै लुकेको प्रावधान छैन, नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।”

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६१६:२३

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वातै बढ्यो ! नेपालमा के हुन्छ ? यस्तो छ निगमको निर्णय !