“एमसिसी बारे नेकपाले छिट्टै निर्णय गर्छ, उपसभामुखको राजीनामा अनिवार्य”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे पार्टीले छिट्टै निर्णय लिने बताएका छन्।

प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले पार्टीले छिट्टै निर्णय गरेर एमसिसीको टुंगो लगाउने बताए। पार्टीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्ने उनको भनाई छ।

एमसिसी प्रस्तावको विषयमा धेरै समय सम्म अलमल गर्न नहुने उनले स्पष्ट पारे। पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भैसकेको हुँदा सचिवालयले नै एमसिसीको टुंगो लगाउने उनले बताए।

“अब लामो समयसम्म एमसिसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन। पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्याउँछ।”,उनले भने।

नेपालको विद्युत प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसिसीलाई संसदबाट पारित गराउने विषयमा नेकपा भित्रै विवाद रहेको उनको स्वीकारोक्ति छ।

यस्तै श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनको विषयले पनि छिट्टै निकास पाउने उनले स्पष्ट पारे। सभामुख नेकपाबाटै चयन हुनको लागि उपसभामुखको राजीनामा अनिवार्य रहेको उनको भनाई छ।

माघ ६ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अगाडीनै उपसभामुखको राजीनामा आउने र यस विषयले निष्कर्ष पाउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित : शनिबार, माघ ०४, २०७६०५:४३

भगवानले दिए चार अमूल्य उपहार : एकैचोटी ४ सन्तानको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता !