हेटौँडा – हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ ।
आज बिहान फेला परेको अन्दाजी २४÷२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् । उनको शव बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए ।
प्रहरीका अनुसार उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान् यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”
मुख्यमन्त्री पौडेलले मुलुकमा सङ्घीयता आएको र सोही अनुसारको संरचनाहरु बनेको भए पनि केन्द्र नै सबैथोक हो भन्ने मानसिकता सबैतिर हाबी भएको उल्लेख गर्दै स्थानीय तह बनिसकेपछि पनि सङ्घीय सरकारले विकास निर्माणका काममा आफ्नै संरचना बनाएर जिल्ला जिल्लामा काम गर्दै आएको बताए ।
केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था रहे पनि विविध कारणले त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले काम र अधिकारको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकेको बताए ।