काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित भएरै छाड्ने बताएका छन्।
नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनका क्रममा देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट जसरी पनि पारित हुने दावी गरे।
अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा रहेको पनि सभापति देउवाले तर्क गरे।
नेपाल जस्ता विकसित मुलकका लागि एमसीसी मुटु नै हुने उनको तर्क छ। विद्युत व्यापार र विस्तारमा महत्वपूर्ण लाभ देशलाई पुग्ने तर्क गर्दै देउवाले एमसीसी जसरी पनि संसदबाट पारित हुने बताए।
यस्तै देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षले चित्त दुखाएको आरोप पनि लगाए। वर्तमान सरकारले दुई वर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको उनको आरोप छ।
कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको पनि उनले दावी गरे। उपभोक्ता समितिका नाममा समेत सरकारले भ्रष्टाचार गरेको उनको आरोप छ।