सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपा सचिवालय निर्णय

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । नेकपाको आजको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आज बिहान पार्टी अध्यक्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

तत्कालीन सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र लामो छलफल भएको थियो । यही पुस ४ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भइरहेको थियो ।

महासचिव पौडेलले बैठकपछि सचिवालयले एक मतका साथ सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, “उपसभामुखका सन्दर्भमा यसभन्दा अगाडिको बैठकले निर्णय गरिसकेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सहयोग गर्नुहुने हाम्रो अपेक्षा छ ।”

विसं २०१५ फागुन १४ गते सिन्धुपाल्चोकको कुभिण्डेमा जन्मनुभएका सापकोटाले १५ वर्ष अध्यापन गरेका थिए । नेता सापकोटा विसं २०३५ मा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लागेका हुन् । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील छन् । विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य हुनुभएका उनले विसं २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए।

उनले विसं २०५८ मा तत्कालीन नेकपा(मोआवादी)को तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बन्नुभएका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१३:२३

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना