काठमाडौँ, प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले ह्विल लक लगाएको छ ।
सडक ढाकेर पार्किङ गरेको प्रहरीको गाडीमा ह्विल लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीम ढकालका अनुसार उक्त गाडीलाई नियम अनुसार नै चिट काटेर कारबाही गरिएको हो।
नियम मिच्ने जुनसुकै गाडीलाई पनि ह्विल लक लगाउने ढकालले बताएका छन् ।
विधेयक पारित
राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।
बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १४ गते अपराह्न १ बजे बस्नेछ ।