सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपायाको उचित व्यवस्थान गर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले छाडा पशुचौपाया व्यवस्थापन गर्ने सम्बन्धी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधि २०७६ लाई स्वीकृत गरेको छ ।

छाडा चौपायाका कारण कैलाली र कञ्चनपुरका बासिन्दाले ठूलो हैरानी खेप्नु परेकाले उचित व्यवस्थापन गर्न कार्यविधि बनाएर लाग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले तयार पारेको ‘पशुपक्षी मोडेल फार्म स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६’, ‘मिल्क एनालाइजर वितरण कार्यविधि, २०७६’ र कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६’ लाईसमेत मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन (पहिलो संशोधन) आदेश, २०७६’ र ‘रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन (पहिलो संशोधन) आदेश, २०७६’ छुट्टाछुट्टै कार्यविधिलाई पनि स्वीकति प्रदान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । यस्तै ‘प्रदेश समपुरक अनुदान सम्बन्धि कार्यविधि (दोस्रो संशोधन) लाई पनि बैठकले स्वीकृति प्रदान गरेको उहाँले बताउनुभयो ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६११:४८

आउदो माघ १२ गते, सभामुख पदको निर्वाचन