पेरिस । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साविक विजेता युभेन्टसले पार्मालाई २–१ गोलले हराउन सफल भएको छ । आइतबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
योसँगै रोनाल्डो डेभिड ट्रेजेगुएटपछि युभेन्टसका लागि लिगमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी खेलाडी बनेका छन् । सन् २००५ मा ट्रेजेगुएटले लगातार ९ खेलमा गोल गरेका थिए । तर, दोस्रो हाफको ५५ औँ मिनेटमा आन्द्रेयास कोर्नेलियसले हेडमार्फत गोल गर्दै खेल बराबरी गरे ।
यद्यपि, बराबरी लामो समय टिक्न सकेन । तीन मिनेटपछि नै रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए । त्यसपछि भने कुनै गोल हुन सकेन र युभन्टसले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।
जितसँगै २० खेलपछि ५१ अंक बटुल्दै युभेन्टसले इटालियन लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । रोनाल्डोले यो सिजन लिगमा १६ गोल गर्न सफल भएका छन् । योसँगै उनी युरोपका शीर्ष पाँच लिगमा पछिल्ला १४ लिग सिजनमा लगातार कम्तीमा १५ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
गत सिजन उनले २१ गोल गरेका थिए । गोलसंख्यामा यस सिजन उनी सिरो इमोबाइलभन्दा मात्र पछि रहेका छन् । लाजियोका खेलाडीले २३ गोल गरेका छन् ।
आइतबार नै भएको अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलान लिससँग १–१ को बराबरीमा रोकियो । रोमाले भने जेनोआलाई ३–१ गोलअन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । एसी मिलानले पनि उडिनेजेमाथि ३–२ को जीत हासिल गर्दै लिगको आठौँ स्थानमा उक्लिएको छ ।