अवैध भट्टीमा प्रहरीको छापा : भेटियो बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता र खेर गएका खाना !

साँखु – महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

पचास जनाको नेतृत्वमा गएको प्रहरी टोलीले कामीटारका भट्टीमा छापा मार्दा मदिरा बनाउन बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता, होटलबाट खेर गएका खानालगायतका फोहर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरेको फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको रोहबरमा उक्त बरामद मदिरा नष्ट गरेको थियो ।

सुर्तीजन्य पदार्थसहित तीन पक्राउ
नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी भन्सार छली तथा चोरीपैठारी गरी विभिन्न सवारी साधनमार्फत काठमाडौँसम्म ल्याएर कारोबारमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले हुसेनलाई सुुन्धारा, बोगटीलाई ललितपुरको धापाखेल र सिंहलाई गौरीघाटबाट आइतबार साँझ पक्राउ गरेको हो । सम्मेलनमा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’ मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताए । “पक्राउ परेकाले सुर्तीजन्य तथा पान मसला, कपडा, मोटरका पार्टसलगायतका सामग्री भन्सार छलेर नेपाल ल्याई देशका विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरेको पाइएको छ,” उनले भने ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६०४:०४

अब सङ्गीत सुन्दै शौच : नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय नेपालगञ्जमा !