काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुख पदमा उम्मेदवार बनाएका अग्नि सापकोटा निर्विरोध सभामुख निर्वाचित हुने भएका छन्।
मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य कुनै पनि दलले मनोनयन दर्ता नगरेपछि अग्नि सापकोटा निर्विरोध सभामुख निर्वाचित हुने भएका हुन्।
निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता खुला गरिएको थियो। संसद् भवनमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा अन्य कुनै पनि व्यक्तिको उम्मेदवारी दर्ता भएन।
प्रमुक प्रतिपक्षि नेपाली कांग्रेस सहित अन्य कुनै पनि दलबाट निर्धारित समयमा मनोनयन दर्ता नगरेपछि अग्नि सापकोटा निर्विरोध सभामुख निर्वाचित हुने पक्का भएको छ।
अग्नि सापकोटा सभामुखमा निर्विरोध भएपनि औपचारिक घोषणा भने माघ १२ गते मात्र हुनेछ। यही माघ १२ गतेका दिन बस्ने प्रतिनिधिसभाको बैठकले सापकोटा निर्विरोध चयन भएको घोषणा गर्नेछ।
सभामुखमा सापकोटाको उम्मेदवारी दर्ता
सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन सभामुखले पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ ।