एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आइतबार ग्रानडाविरुद्ध जित हासिल गर्दै नयाँ प्रशिक्षक किके सेटिनको नेतृत्वमा सानदार सुरुवात गर्यो । यसक्रममा बार्सिलोनाले झन्डै ७ वर्षको अन्तरालपछि एकै खेलमा १ हजार पास पनि पूरा गर्यो ।
यसअघि सन् २०१२ नोभेम्बर २५ मा बार्सिलोनाले लेभान्तेलाई ४-० ले पराजित गर्दा १ हजार ३५ पास पास खेलेको थियो । उक्त खेलमा लिओनेल मेस्सीले २ गोल तथा आन्द्रेस इनिएस्टा र सेस फाब्रीगासले १-१ गोल गरे । त्यसक्रममा जाभीले १ सय ३९, फाब्रीगासले १ सय २४ र सर्जियो बुस्केट्सले १ सय १६ पास खेलेका थिए । सन् २००५/०६ यता ला लिगामा कुनैपनि टोलीले १ हजार पास कटाएको यो तेस्रो पटक हो ।
उक्त खेलमा टिटो भिलानोभा बार्सिलोनाका प्रशिक्षक थिए । त्यस खेलमा अर्को ऐतिहासिक उपलब्धि पनि हासिल भएको थियो । बार्सिलोनाको पहिलो रोजाईमा खेलेका सबै ११ खेलाडी बार्सिलोनाको प्रतिष्ठित एकेडेमी ला मासियाका उत्पादन रहेका थिए ।
बार्सिलोनाले ७ वर्षपछि १ हजार पासको आँकडा पार गर्दा पुरानै टोलीको ४ खेलाडी सुरुवाती रोजाइमा थिए । कप्तान लिओनेल मेस्सीसहित जेरार्ड पिके, जोर्डी अल्बा र सर्जियो बुस्केट्सले दुवै खेलमा सुरुवात गरे । ग्रानडाविरुद्ध पनि ला मासियाका ८ खेलाडी टोलीमा थिए ।