केरलाबाट नेपाल घुम्‍न आए तर तातो बनाउन बालेको ग्याँस हिटरले लियो ज्यान !

काठमाडौं । मकवानपुरको दामन क्षेत्रमा घुम्न आएका ८ जना भारतीय पर्यटकको निस्सासिएर ज्यान गएको छ । काठमाडौंबाट पोखरा हुँदै सोमबार राति मकवानपुर पुगेका उनीहरू दामनको एक रिसोर्टमा बास बसेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

केहीदिनदेखि परेको पानी र तुसारोले समुद्री सतहबाट २४०० सय मिटरमा पर्ने थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा चिसो अत्यधिक थियो । बेलुका ९ बजे एभरेस्ट पानोरमा रिसोर्टमा बास बस्न पन्ध्र जना भारतीय पर्यटक आइपुगे हुन् ।

दामनका एक–दुई दिन घुम्ने योजनामा भारतीय पर्यटक रिजर्भ बसमा आएका थिए । केरलाबाट काठमाडौं र त्यहाँबाट पोखरा घुमेका उनीहरू दामन पुगेपछि खाना खाएका थिए । रिसोर्ट पुगेपछि उनीहरूले ११, १२, १३ र १४ नम्बर कोठा उनीहरूले बुक गरेका थिए ।

११ र १२ नम्बर रूममा दुई परिवारका आठ जना सुत्न गए । दुई पुरूष, दुई महिला, दुई बालक र दुई बालिका सो कोठामा सुतेका थिए । बालबच्चासहित उनीहरू ११ बजेतिर कोठामा छिरेको रिसोर्टका कर्मचारीहरूले जानकारी दिएका छन् । तर, ओछ्यान चिसो रहेको भन्दै रेस्टुरेन्टमा फर्किए आठै जना ११ नम्बर कोठामा बस्ने सल्लाह गरे । सो होटलमा ‘इलेक्ट्रिक बेड’ राखिएको छ ।

उनीहरूले बेड तातो नभएको र बालबालिकालाई चिसो भएको भन्दै हिटरको माग गरे । कर्मचारीले हिटर दिन आनाकानी गरेपनि उनीहरूले जिद्दी गरेपछि कर्मचारीले ग्याँस हिटर लगिदिएको प्रहरीले जानकारी दिएको छ । त्यसमा दुई पुरुषले ह्विस्की समेत पिएका थिए ।

कोठाका झ्यालढोका सबै बन्द गरेर हिटर बालेका आठै जना एउटै कोठाका दुई बेडमा सुतेको कर्मचारी बताउँछन् । बिहान करिव ९ बजेतिर चिया लिएर कर्मचारी १३ र १४ नम्बर कोठामा गए । आठ जना सुतेको ११ नम्बर कोठा नखुलेको सुनाए ।

त्यसपछि १३ र १४ नम्बर कोठाका पर्यटक आएर ढोका धकेल्दा भित्र आठै जना बेहोस थिए । कोठा र मान्छे पनि तातै थिए । तर, कसैको होस् थिएन । होटलका कर्मचारीले प्रहरीलाई खबर गरेर प्रहरी त्यहाँ पुग्दा निक्कै अबेर भईसकेको थियो ।

प्रहरीसँगको सहकार्यमा काठमाडौंबाट हेलिकप्टर मगाएर दुई पटक गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो । तर, अस्पतालले आठै जनालाई मृत घोषित गरिदिए । ज्यान गुमाउनेमा सबै केरलाका बासिन्दा हुन् । प्रहरीका अनुसार ज्यान हुनेहरुमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा रहेका छन् । मृतक सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

पालुङ घुमेर काठमाडौं हुँदै भारत फर्किने योजना बनाएका उनीहरूको असावधानीले ज्यान गएको प्रहरीले बताएको छ । यसैबीच, निसास्सिएर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि केरला राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा ज्यान गुमाएका आफ्ना नागरिका परिवारका लागि सहयोग प्रदान गर्न आवश्यक हस्तक्षेप गरिदिन भनेका हुन् ।

भारतीय टाइम्स अफ इन्डियको अनलाइन संस्करण अनुसार मृतक सबै ८ नागरिकको शव काठमाडौं हुँदै भारत ल्याउने प्रक्रियामा रहेको उल्लेख छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आवश्यक परीक्षणपछि भारतीय दूतावासमार्फत परिवारलाई शव बुझाइने छ ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६०५:०४

मातृकाले अन्तर्घातका लागि यीनलाई खटाए