अगुइरोले गरे सिटीको उद्धार !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ । सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।

ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा सिटी अग्रता लिनबाट चुकेको थियो । खेल भर नै घरेलु टोली सेफिल्डलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको आठौं मिनेटमा जिनचेन्कोको कर्नरमा रोड्रीको बक्स बाहिरको प्रहार बारमा लागेर बाहिरिदा सिटी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा रहिम स्ट्रलिङको प्रहार सेफिल्डका गोलरक्षक डिन हेन्डरसनले बचाए । ३६औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । क्रिस वासामले रियाद महारेजलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जेसस चुकेका थिए ।

६३औं मिनेटमा वासामको पासमा म्याक ब्रुनको प्रहार सिटीका गोलरक्षक इडर्सन मोरेसले मुस्किलले बचाए । ७३औं मिनेटमा म्याकब्रुनले अर्काे मौका गुमाउदा सोही मिनेटमा अगुइरोले काउन्टर एट्याकमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए ।

केभिन डि ब्रुयनको पासमा सब्सिच्युट अगुइरोले गोल गर्न सफल भएका थिए । उनी खेलको ६७औं मिनेटमा जेससको स्थानमा मैद्यान प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो ।

जितपछि सिटी २४ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित सेफिल्ड ३३ अंक जोडेर सातौ स्थानमा रहेको छ । सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलभन्दा १३ अंकले पछि छ । सिटी तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले माथि छ ।

अन्य नतिजा
बर्नमाउथविरुद्ध ब्राइटन (३–१)
एस्टन भिल्लाविरुद्ध वाट्फोर्ड (२–१)
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन (०–२)
एभर्टनविरुद्ध न्यु क्यासल (२–२)

प्रकाशित : बुधबार, माघ ०८, २०७६०५:३८

मेलबर्न स्टार्सलाई एडिलेडको बलियो लक्ष्य, सन्दिप विकेट बिहिन् !