डा. आशा सिंह एआईजीमा बढुवा, आईजी खनालबाट दर्ज्यानी चिन्ह !

काठमाडौँ – प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा. आशा सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन्।

दर्ज्यानी चिन्ह प्रदान गरिएपश्चात महानिरीक्षक खनालले सिंहलाई बधाई तथा शुभकामना दिए। सो क्रममा उनले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुन् सुझाव दिए।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन आएको प्रति महानिरीक्षक खनालले खुसी व्यक्त गरे।

नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए । व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढे संगठन सफल हुने उनको विश्वास छ।

यता पदोन्नति भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह सम्पूर्ण जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरिन्। नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रूपमा विकास गर्न गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरिने उनको भनाई छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६०८:१०

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक ! कुन परिक्षा कहिले ? हेर्नुहोस् तालिका सहित