काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्ला उम्मेद्धवार अग्नि सापकोटाको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन्।
ललितपुरको खुमलटारस्थित् आफ्नो निवासमा समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै नेताले सापकोटाको विरोधमा माईतीघरमा बुधबार गरिएको प्रदर्शन बारे टिप्पणी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
जाडोमा माईतीघरमा उफ्रिएर केही नहुने तर्क छ। सभामुखमा साझा उम्मेद्धवार रहेका सापकोटा विरुद्ध प्रदर्शन गर्नु औचित्यहीन हुन जाने उनले जिकिर गरे।
“जाडोमा माईतीघरमा उफ्रिएर केही हुँदैन् । चिसो खान माईतीघरमा कुर्लिएर केही हुँदैन् । चिसो हावामा नबस्नुहोस्।”,पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने।
प्रतिनिधिसभाको सभामुख पदका उम्मेदवार सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध प्रदर्शन भएको छ। सापकोटा विरुद्ध बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो।
काभ्रेका अर्जुन लामा ह-त्या आरोपमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै मण्डलामा प्रदर्शन गरिएको छ। नागरिक खबरदारी भन्दा प्रदर्शनमा उत्रिएका सर्वसाधारणहरुले सापकोटालाई सभामुख नबनाउन माग गरेका छन्।
सापकोटालाई सभामुख बनाए आफूहरुको अपमान हुने द्वन्द्वपीडितहरुले बताएका छन्। सर्वोच्च अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउन नहुने द्वन्द्वपीडित तथा नागरिक समाजको माग छ।
काभ्रे छत्रेबाँझका अर्जुन लामाको २०६२ सालमा तात्कालिन माओवादीले अ-पहरण पछि ज्यान लिएको थियो। अ-पहरण गरिएका लामाको शव दुई महिनापछि काभ्रे बुढाखानीमा गाडिएको अवस्थामा फेलापरेको थियो।
सोहि घटनाको आरोपमा सापकोटा विरोद्ध मुद्दा चलिरहेको छ। हाल उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेरिरहेको छ।