एजेन्सी – बलिउडमा अक्षय कुमार ‘खिलाडी’को उपनामले चिनिन्छन्। अक्षय बलिउडकै सबै भन्दा धेरै व्यस्त नायक हुन्। अन्य नायकहरुको वर्षमा मुस्किलले १-२ वटा चलचित्र रिलिज हुन्छ। तर, अक्षयका भने एकै वर्ष ४ चलचित्र सम्म रिलिज हुन्छन्।
पछिल्ला केहि वर्षको तथ्याँक हेर्ने हो भने, अक्षयका कुनै पनि चलचित्र फ्लप भएका छैनन्। गत वर्ष मात्रै अक्षयका ४ चलचित्र रिलिज भए, मिसन मंगल, गुड न्युज, केसरी र हाउसफुल। जसमध्ये सबै चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरे।
सन् २०१९मा अक्षयका चलचित्रले ७०० करोड भन्दा बढी बक्स अफिस कलेक्सन गरेको बताइन्छ। जसकारण बलिउडमा अक्षयलाई “हिट मेसिन” पनि भन्न थालिएको छ।
बलिउडमा सबै भन्दा धेरै कमाई गर्ने कलाकार पनि अक्षयनै हुन्। फोर्ब्सका अनुसार अक्षय विश्वका सबै भन्दा धेरै कमाई गर्ने कलाकारको सूचीमा ३३ औं स्थानमा पर्छन्।
हालसालै भारतीय मिडियाहरुमा आएको एक समाचारको कारण अक्षय अहिले चर्चामा छन्। बताइएअनुसार, अक्षय अहिले सम्म कुनै पनि बलिउड कलाकारले नलिएको पारिश्रमिक लिँदै छन्।
आनंद एल रायले निर्माण गर्न लागेको एक प्रेम कथामा आधारित चलचित्रको लागि अक्षयले १०० करोड भन्दा बढी पारिश्रमिक लिएको बताइएको छ। यधपी यसको आधिकारिक पुष्टि भने भैसकेको छैन।
चलचित्रको शुटिंग केहि महिनामै शुरु हुने भारतीय संचार माध्यमहरुको दावी छ। यदि यो समाचार सत्य ठहरिए अक्षय बलिउड इतिहाँसकै सबै भन्दा महँगा कलाकार हुनेछन्।