काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणका कारण बिरामी हुनेको संख्या ५ सय ७१ पुगेको बताइएको छ । चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूका अनुसार बुधबार साँझसम्म संक्रमणबाट बिरामी हुनेहरूको संख्या त्यति पुगेको बिहीबार जानकारी दिएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
यसले नेपालमा धेरै खतरा हुने नेपाली चिकित्सकहरू बताउँदै आएका छन् । यस कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएको भन्दै चीनले पशुबजारमा कडा नियमन गरेको छ । तर, नेपालमा यसको सर्तकता अपनाए पनि खासै प्रभावकारी हुने देखिएको छैन ।
विशेषगरी चीनका विभिन्न प्रान्तबाट नेपालमा भ्रमणका लागि आउने चीनीयाँ नागरिकहरूलाई त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइएको भएपनि परीक्षण प्रविधि नहुँदा समस्या भएको हो ।
चीनको २५ प्रान्तमा फैलिएको यो भाइरसको संक्रमण स्थानीय प्रशासनले जंगली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ । त्यस्तै मानिसहरूको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ, तर नेपालमा विमानस्थलमा यसको लागि हेल्थ डेक्समा जाँच गर्ने भनिएपनि त्यसको प्रविधि भने नभएको हो ।
यसरी हेर्दा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनको निमित्त पनि यसले समस्या ल्याउने देखिन्छ । त्यस्तै चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छ न् ।
त्यस्तै अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले पनि जनाएका थिए । हुबेइबाटै केही दिनअघि अमेरिका फर्किएका एक अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको बताएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् ।
भाइरस प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । अझ ब्रिटेनका विशेषज्ञले त चिनियाँ विशेषज्ञले दिएको तथ्यांकभन्दा संक्रमितको संख्या निकै बढी भएको अनुमान लगाएका छन् । मानिसबाट मानिसमा सर्ने जोखिम उच्च भएका कारण यो भाइरस नेपालमा पनि भित्रिने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विशेषज्ञले सुझाएका हुन् ।
युहान गएर आएका नेपाली र त्यहाँबाट आएका पर्यटक सबैमा विमानस्थलमै नमूना परीक्षण गर्नुपर्ने विशेषज्ञको सुझाव छ । युहानबाट आएका एक नेपाली युवामा कोरोना भाइरस परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नमुना हङकङ पठाएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा मंगलबार हङकङको युनिभर्सिटीमा नमूना परीक्षणका लागि पठाएको महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिएका छन् ।
ती युवामा भाइरस भए–नभएको प्रमाणित गर्न ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि बाहिर पठाएको उनले जानकारी दिएका छन् । उनले केही दिनमै स्वदेशमै परीक्षणको व्यवस्था मिलाउने पनि बताए ।
डा. हेमन्तका अनुसार भाइरस भित्रिने उच्च जोखिम नेपालमा भएपनि तत्कालका लागि परीक्षण गर्न नेपालमा सम्भव नभएपनि चाँडै नै व्यवस्था मिलाउने तयारी भएको बताए ।
उनले भने,‘नमुना परीक्षणका लागि आवश्यक सामग्री केही दिनभित्रै नेपाल आउने भएको छ । त्यसपछि उपचारमा सहज हुन्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही दिनमै शंकास्पद अवस्थाका बिरामीको नमुना परीक्षण स्वदेशमै गर्ने व्यवस्था मिलाइने जनाएको छ । भाइरसहरूको परीक्षण पोलिमराइजेसन चेन रियाक्सन प्रविधि (पिसिआर) बाट गरिन्छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला कोरोना भाइरस मानिसबाट मानिसमा संक्रमण हुने भएकाले चीनबाट आउने संक्रमितबाट नेपालमा पनि फैलिने सम्भावना भएको बताउँछन् ।
अन्य देशमा भाइरस फैलिसकेको अवस्थामा नेपालले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । कोरोनाभाइरसका कारण मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्नेलगायत समस्या देखिन्छ । भाइरसले निमोनिया निम्त्याई श्वासप्रश्वासमा समस्या उत्पन्न भई संक्रमितको मृत्युसमेत हुन्छ ।
विमानस्थलमा ५ स्वास्थ्यकर्मी परिचालित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा ५ जना स्वास्थ्यकर्मी परिचालित गरेको छ । विमानस्थलमा उच्च सतर्कता अपनाएसँगै त्यहाँ रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । विदेशी पर्यटक तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्यजाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।
संक्रमण श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा यसबाट बच्न भिडभाडमा जान नहुने चिकित्सकहरूले बताएका छन् । यसको लागि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, साबुनपानीले हात धुने, खानेकुरा राम्रोसँग पकाएर खानुपर्ने चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नोवेल कोरेना भाइरस नामको यो भाइरस पाँचवटा देशमा पुगेको छ ।
उनले भने,‘चीन र नेपाल भनेको सँगसँगै रहेको देश हो, चीनमा देखिएको भाइरस अन्य टाढाका देशमा पुगिसक्यो भनेपछि हाम्रोमा फैलावट हुन समय नै लाग्दैन । स्वभाविकरूपमा नेपाल जोखिममा छ, त्यसैले उच्च सतर्कता अपनाउन जरुरी छ ।’ भौगोलिकरूपमा नजिकै भएको कारण पनि वर्षेनी चीनमा विद्यार्थी, व्यवसायी र अन्य व्यक्तिहरू भ्रमण गर्न जाने र नेपालमा समेत त्यहाँबाट पर्यटक आउने हुँदा समस्या भएको डा. पुनले बताए ।
उनका अनुसार भौगोलिक हिसाबले देशसँगै भएकाले यस भाइरसलाई रोक्नको लागि सबै नाकाहरूमा सतर्कता अपनाउनुपर्छ । उनले विकसित देशले जस्तै हामीले पनि समयमै उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
चीन र हङकङमा यो भाइरस सन् २००२–००३ मा प्रकोपका रूपमा फैलिएको सार्स भाइरसकै एक प्रजाति हो । कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको थियो ।
नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ । यसका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको ज्यान गएको थियो । यो सातौँ प्रकार सार्स र माउसभन्दा पनि छिटो सरेको हुँदा समस्या भएको विशेषज्ञहरूको भनाइ छ । यस भाइरसलाई मध्यनजर गर्दै अमेरिका, बेलायत र अस्ट्रेलियाले उच्च सतर्कता अपनाइरहेका छन् ।