काठमाडौँ, १२ माघ: प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गरेन् । उहाँले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिएका छन् ।
सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएका हुन्। बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गरेका थिए ।
सभामुखमा सापकोटा निर्वाचित
प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गरेका हुन् ।
बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नेछन् भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो’ भनेका छन्। बैठकमा उहाँको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको बताएन् ।
प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेकपाका ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । पूर्वसभामुख घर्तीले सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको र शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुने वातावरण बनेको देखिनु हो’, भनेका छन्। उहाँले तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गर्नुभएकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको उनले बताए । सांसद घर्तीले भने, “उहाँमा सांसद र मन्त्रीको समेत अनुभव रहेको र राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।”