अमेरिकामा हराएकी भनिएकी उपप्रमुखकाे स्टाटस : ‘मेयर चौबिसै घण्टा रक्सीमा डुब्छन्’

सुर्खेत । चार महिनादेखि सम्पर्कविहीन भएकी भनिएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) ले आफू कतै नलुकेर बिरामी परेको लेखेकी छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नगरप्रमुख रत्नबहादुर शाहीले विभिन्न मिडियासँग उपप्रमुखले आफूसँग सम्पर्कमा नरहेको बताएपछि उनले आइतबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखेकी छन् ।

स्टाटसमा उनले आफू बिरामी परेको र उपचाररत रहेको तथा उपचारमा स्थानीय सरकारको पैसा खर्च नगर्ने भन्दै आफूलाई अमेरिकामा लुकेको बताउनेहरूप्रति आक्रोश व्यक्त गरेकी छन् । नगरपालिका संघको सिफारिसमा चार महिनाअघि अमेरिका गएकी उपप्रमुख नेपाली कसैसँग सम्पर्कमा नरहेको र फेसबुक एकाउन्ट पनि डिएक्टिभेट रहेको मेयर शाहीले बताएका थिए ।

उनको फेसबुक एकाउन्ट भने शुक्रबार मात्रै एक्टिभेट भएको थियो । नोभेम्बर १५, २०१९ मा फिलिङ सिक भनेर उफ लेखेर स्टाटस राखेको देखिन्छ । उनले स्टाटस लेख्न उषा कुमाईले सहयोग गरेकी स्टाटसमा उल्लेख गरेकी छन् ।

उनले चौबिसै घण्टा मदिरामा डुब्ने मेयर भन्दै मेयरले आफ्नो फोन नउठाएको बताएकी छन् । उनले लेखेकी छन्, ‘म आराम छैन । तपाईंहरू आराम हुनुहुन्छ भन्ने विश्वास छ । ओरालो लागेको मृगलाई सबैले खेद्छन् भन्थे हो रहेछ आज आएर बुझ्दै छु ।’

आफू कतै नहराएको र नलुकेको बताउँदै उनले आफूले मेयर रत्न शाहीलाई जानकारी गराएर अमेरिका गएको लेखेकी छन् । ‘अमेरिकाबाट बारम्बार फोन गर्दा कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उनको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव विजालजीसँग पनि कुरो भएको हो ।’ सबै वडाध्यक्षसँग पनि कुरा भएको बताउँदै उनले कतैबाट प्रतिक्रिया नआएको लेखेकी छन् ।

अमेरिका जाँदा नगरले रकम नदिएको भन्दै पैसा माग्नजस्तो धेरैपटक फोन नगर्ने सोच लिएको उनले लेखेकी छन् । ‘हुन त २४ घन्टा रक्सीमा डुबिराख्ने मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारम्बार भिख पनि मागिनँ ।’

‘मैले सोचेँ म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिनँ माग्दिनँ,’ उनले लेखेकी छन्, ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ अलिअलि चल्नसक्ने भएको छु यसको सबै उपचार भारतकी डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पूर्ण रूपमा निको हुन अझै पाँच महिना समय लाग्छ ।’

तिलागुफाका जनताहरूको माया ममता सधैँ भइराख्ने उल्लेख गर्दै उनले लेखेकी छन्, ‘मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरीदिनुहोला मलाई उत्तरदायित्वको बारेमा राम्रोसँग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।’

प्रकाशित : सोमबार, माघ १३, २०७६०४:४७

ललिता निवास जग्गा प्रकरण: पौडेलको जग्गा तान्दै सरकार !