दाङको दंगीशरण गाउँपालिका–२ का नोखिराम विक नेपाली सेनामा जागिरे भएपछि घर बनाउने सपना बोकेका थिए।
जागिरे जीवनको १४ वर्ष चल्दै थियो । ‘रिटायर्ड’ हुन ६ वर्ष बाँकी रहँदा पनि उनको त्यो सपना पूरा हुन सकेन्, उल्टै उनको जीवनमा बज्रापात भयो । ‘फास्ट ट्रयाक’का लागि नजगढमा सडक बनाउने काम चलिरहेका बेला ढलेको रुख उनको खुट्टामा पर्यो । ग’म्भीर घाइते भएका उनको उपचार गराउँदा पनि खुट्टा निको भएन्, उल्टै खुट्टा का’ट्नु पर्यो । त्यसपछि उनका सपना, सपनामा नै सीमित बने ।
“मैले सेनामा जागिर हुँदा एउटा घर बनाउँला भन्ने सोचेको थिए” उनले भने , “तर उल्टै खुट्टा नै गुमाउनु पर्यो ।” अहिले उनका दुई सन्तान छन् । एउटा छोरी र एउटा छोरा छ । उनीहरुलाई कसरी पढाउने भन्ने चिन्ता छ । “आफ्नो घर छैन, बजारमा भाडामा बस्दै आएको छुँ, दैनिकी चलाउन निकै समस्या हुने गरेको छ” उनले भने , “छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ ।” देशकै सेवा गर्ने क्रममा आफूले खुट्टा गुमाउनु परेको भन्दै राज्यले यसको क्षतिपूर्ति दिनुपर्ने उनको माग थियो ।
सैनिक सम्मेलन भेटघाटको सुनौलो अवसर
तीन/तीन वर्षमा यसरी सैनिक सम्मेलन हुनेगर्छ । दाङमा आइतबार सैनिक सम्मेलन भयो । जहाँ साविक राप्तीका भुतपूर्व सैनिकहरुको सहभागिता थियो । यो सम्मेलनले भूतपूर्व सैनिकहरुका बीचमा भेटघाट, चिनजान र अनुभव साट्ने सुनौलो अवसर प्रदान भएको भूतपूर्व सैनिक अम्मरबहादुर श्रेष्ठले बताउनुभयो । “तीन वर्षअघिदेखि यसरी सैनिक सम्मेलन हुने गरेको छ” उहाँले भन्नुभयो, “यसले पूर्वसैनिकहरुका अनुभव आदानप्रदान गर्ने एउटा सुनौलो अवसर प्राप्त हुने गरेको छ ।” यो पूर्वसैनिकहरुका कुराहरु राज्यलाई सुनाउने माध्याम पनि बनेको उनले बताए । अहिले आफूहरुलाई राज्यले दिएको सेवा सुविधाप्रति सन्तुष्ट रहेको समेत उनको भनाइ थियो ।
राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ : प्रधानसेनापति
प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताउनुभयो । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ” उहाँले भन्नुभयो “देशलाई अप्ठेरो पर्दा, देशलाई अन्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”
पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नेपाली सेनामा उत्साह, जोस, जाँगर, इमान्दारिता भएकै कारण विश्वमै प्रशंसा गर्न लायक रहेकोसमेत बताउनुभयो ।
मुलुकको स्वाधीनता र सर्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उहाँको भनाइ छ । उहाँले नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने भन्दै सेनाको यो पहिचानलाई जोगाई राख्नुपर्ने समेत बताउनुभयो । साथै नेपाली सेनाले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, ऐतिहासिक युद्ध स्थलको संरक्षण सम्बद्र्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको उहाँले बताउनुभयो ।
नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोषमार्फत नेपाली सेनालाई आयआर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सैनिकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको संस्कार र पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
दीपक बोहरा