काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेर आफूहरुले धोका पाइसकेको हुँदा राष्ट्रिय जनता पार्टी(राजपा)ले पनि पाठ सिक्नुपर्ने बताएका छन्।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले उपसभामुख राजपालाई दिने तयारी गरिएको प्रति टिप्पणी गर्दै भट्टराईले समाजवादी पार्टीलाई हेरेर पाठ सिक्नु पर्ने बताएका हुन्।
चरालाई चारा हालेर पासोमा पारेर शिकारीहरूले शिकार गरेजस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)पनि गर्ने गरेको र त्यस पासोबाट आफूहरु उम्केर भागेको हुँदा राजपा जानाजान फस्न नहुने उनको बुझाई छ।
“चरालाई चारा हालेर पासोमा पार्ने र शिकार गर्ने शिकारीहरूको पुरानै शैली हो!आफ्नै प्रजातिको अर्को चरा पासोबाट उम्केर भागेको देख्दादेख्दै त्यसबाट नचेतीकन चारोको लोभमा पासोमा परिरहने चराहरूको अहिलेसम्मको नियति पनि हो!”,भट्टराईले सामाजिक संजाल ट्वीटरमा टिप्पणी गरेका छन्।
यस्तो नियतिमा कहिले ब्रेक लाग्ला भन्ने उनको प्रश्न पनि छ। “यो नियतिमा कहिले ब्रेक लाग्ला? पर्खौं र हेरौं!”,भट्टराईले ट्वीटरमा थप लेखेका छन्।
समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै राजपा र नेकपा बीचको दूरी कम भएको छ। राष्ट्रियसभामा नेकपा र राजपाले तालमेल समेत गरेका थिए। जसकारण समाजवादी पार्टीले आफ्नो एक सिट गुमाउन परेको थियो।
राजपा र नेकपा नजिक बढेसँगै भट्टराईले नेकपा फुटाएर राजनीति गर्न खप्पिस रहेको भन्दै राजपा सतर्क रहनु पर्ने बताउँदै आएका छन्।
चरालाई चारा हालेर पासोमा पार्ने र शिकार गर्ने शिकारीहरूको पुरानै शैली हो!आफ्नै प्रजातिको अर्को चरा पासोबाट उम्केर भागेको देख्दादेख्दै त्यसबाट नचेतीकन चारोको लोभमा पासोमा परिरहने चराहरूको अहिलेसम्मको नियति पनि हो! यो नियतिमा कहिले ब्रेक लाग्ला? पर्खौं र हेरौं! https://t.co/XhXOFosqRz
— Baburam Bhattarai (@brb1954) January 27, 2020