मुक्का हान्ने ‘डन सांसद’लाई तीन दिनमै उन्मुक्ति, गालि गर्ने आस्थालाई ४ दिन थुना ?

काठमाडौँ – कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो । उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेका थिए । अभद्र व्यवहार मुद्दामा आइतबार उनी पाँच हजार धरौटीमा छुटे । तर, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई चार दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । जबकि उनी सोमबार बिहान आफैँ महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

अभद्र व्यवहार मुद्दा हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । प्रहरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)समक्ष उनलाई सात दिन हिरासतमा लिने गरी म्याद मागेकोमा सिडिओले चार दिन दिएका छन् । आस्थाको बयान सोमबार नै सकिएको छ । सामान्य विवादको विषयमा गायिका राउतमाथि फौजदारी मुद्दा चलाएपछि प्रहरीको कदम विवादमा परेको छ ।

विमानस्थलको चेकिङको विवादलाई लिएर सामाजिक सञ्जालमा प्रहरीको आलोचना गरेको भन्दै गायिका राउतलाई प्रहरीले हिरासतमा राखेको हो । मुलुकी अपराध संहिताअन्तर्गतको अभद्र व्यवहार मुद्दामा चार दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी बिरामी भएको भन्दै सोमबार बेलुका अस्पताल भर्ना भएकी छिन् ।

गत १ माघमा विमानस्थलको चेकिङमा प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोप आस्थामाथि छ । त्यस्तो अवस्थामा तत्कालै उनलाई नियन्त्रणमा लिन सक्ने भए पनि प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको थियो । पछि आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले फेसबुकमा प्रहरीको आलोचना गरेपछि प्रहरीले उनीविरुद्ध उत्रिएको हो । महानगरीय प्रहरी कार्यालयले चेकिङमा संलग्न जवान श्रेष्ठलाई गायिकाविरुद्ध उजुरी हाल्न लगाएर उनीविरुद्ध ‘प्रतिशोध’ लिन खोजेको हो । जबकि प्रहरी आलोचनामा केही गलत शब्द बोलेको भन्दै आस्थाले माफी मागेकी थिइन् ।

‘प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा राख्यो’

गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन । यसबाट प्रहरी र कलाकारको दूरी नबढोस् भन्ने म चाहन्छु ।’ प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा लिएको उनको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६०४:०१

कम्युनिस्ट कमाउनिस्ट बन्दै: सम्पत्ति कमाउने होडबाजी !