काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी छाड्न नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै देउवाले अमेरिकी परियोजना एमसिसी संसदबाट पास गर्ने पर्ने बताए। नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिँदै सम्बोधन शुरु गरेका देउवाले सापकोटालाई सफल कार्यकालको शुभकामना दिए।
“रस्साकस्सीको बावजुद, मुस्किल मुस्किलले सभामुखमा चयन हुनुभएकोमा सभामुखज्यूलाई हादिृक बधाई ज्ञापन गर्न चाहन्छु । तपाईको सफल कार्यकालको लागि पूरापूर सहयोग हुनेछ । सभामुखमा हामीले उम्मेद्धवार उठाएनौं । पहिलेपनि उठाएका थिएनौं । सभामुख पद तटस्थ पद हो । दमननाथ ढुंगानाले सदन विपक्षीको हो भनेर सम्झाउनुभएको छ । यो कुरा तपाईले ध्यान दिनुहोस् । तटस्थ, निश्पक्ष हो । सत्तापक्षको आलोचना गर्ने दायित्व विपक्षीको हो।”,उनले भने।
एमसिसी मार्फत अमेरिकाले दिन लागेको सहयोग अहिले सम्मकी ठूलो रहेको हुँदा कुनै पनि हालतमा एमसिसी गुमाउने नहुने देउवाले तर्क गरे।
“एमसिसीबाट यति ठूलो सहयोग आएको छ। यस्तो सहयोग अमेरिकाबाट कहिले आएको थिएन। यस्तो आर्थिक सहयोग सदुपयोग गर्नुपर्छ। बिजुलीको लाइन विस्तारमा हामीले यसलाई सदुपयोग गर्नुपर्छ।”,देउवाले भने।
यस्तै देउवाले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विधेयकहरु फिर्ता गर्न पनि माग गरेका छन्। प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनले केहि हद सम्म भए पनि आशा पलाएको उनले बताए।
“लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विधेयकहरु, टेलिफोन ट्यापिङका कुराहरु फिर्ता गरियोस्। यसलाई पास गर्नुहुँदैन। हामीले यो कुरा भनिरहेका छौँ। प्रधानमन्त्रीले बोलेपछि आस लाग्यो, लोकतन्त्रविरुद्ध कोही जानु हुँदैन।”,उनले भने।