काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्दकालिन समस्याहरुलाई कोट्याएर कसैलाई राम्रो नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा भट्टराईले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई समेत दिँदै द्वन्दकालिन समस्याहरु कोट्याउन नहुने बताए।
द्वन्दकालिन घटनासँग जोडेर सभामुख सापकोटा विरुद्ध सर्वोच्चमा रिट दायर गरिएको प्रकरणलाई समेत जोड्दै भट्टराईले द्वन्दकालिन घाउ कोट्याउँदा ‘क्यान्सर’ हुने बताए।
“एउटा-एउटा मुद्दालाई अल्झाएर-उल्झाएर द्वन्दकालिन घाउ बल्झाउने काम भैरहेको छ। त्यसले कसलाई फाइदा पुग्छ? के द्वन्दकालिन घाउ कोट्याएर त्यसलाई ‘क्यान्सर’ बनाउने हो?”,प्रश्न गर्दै भट्टराईले भने।
व्यक्ति-व्यक्तिको मुद्दामा जाने हो भने द्वन्दकालमा १७ हजारको ज्यान गएको हुँदा त्यस्तो गर्न नसकिने उनले तर्क गरे। वृहत शान्तिसम्झौता अनुसार नै सत्य-निरुपणको काम सम्पन्न गरिनुपर्ने उनको बुझाई छ।
यस्तै उनले टिकापुर घटनामा दोषी रेशम चौधरीको मुद्दालाई पनि राजनीतिकरण गरिनु पर्ने बताए। भट्टराईका अनुसार टिकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा लिइनुपर्छ।
टिकापुरको थारु विद्रोहलाई राजनीतिक घटनाको रुपमा नलिएसम्म समस्याको हाल नहुने उनको जिकिर छ। टिकापुर जस्ता अन्य प्रकरण बारे गम्भीर रुपमा छलफल गरिनु पर्ने भट्टराईले माग गरे।