काठमाडौँ – जिल्ला प्रशसन कार्यालय सुर्खेतले वीरेन्द्रनगर सुर्खेतमा ‘कर्फ्यु’ लगाएको छ।
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक जनाको ज्यान गएसँग स्थानीयले गरेको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशसन कार्यालय वीरेन्द्रनगरमा ‘कर्फ्यु’ लगाएको हो।
जिल्ला प्रशसन कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ।
सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु लगाइएको शसन कार्यालयले जनाएको छ।
कर्फ्यु जारी समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ। कर्फ्युको समयमा बन्देज लगाइएको कुनै पनि कार्य गरेको खण्डमा गोली समेत हान्न सकिने चेतवानी दिइएको छ।
कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेको थियो।
भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिँदा सिंहको ज्यान गएको थियो। मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
आन्दोलनले उग्र रुप लिँदै गएपछि प्रहरीले २ राउण्ड हवाइ फायर समेत गरेको थियो।