आफ्नै साथीको ह’त्या गरी फरार भएको भनिएका व्यक्ति आज पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको हो ।
उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई ह’त्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी ह’त्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
४७ बोरा सूर्ती ब’रामद
इलाका प्रहरी कार्यालय राजगढले ४७ बोरा सुर्ती ब’रामद गरेको छ । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले आज बाह्रदशी गाउँपालिका–२ मा वेवारिसे अवस्थामा रहेको ४७ बोरा सुर्ती ब’रामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त सुर्ती रु दुई लाख ५० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । सुर्ती मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उता इलाका प्रहरी कार्यालय झिलझिलेले चार केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–१ निवासी अकालु साह रहेका छन् । प्रहरीले साहको घरबाट रु १४ हजार ६४८ नगद र एक थान चिलिमसमेत ब’रामद गरेको बताइएको छ ।