“एमसीसीबारे भ्रम पाल्नु जरुरी छैन, अमेरिकाको अदृश्य स्वार्थमा नजाऔँ”

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै लगेको बताएका छन् । उनले चौतर्फी ढंगले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशंका नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशंका रहेमा चिरेर जान आग्रह गरे ।

उनले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट गरे ।

उनले एमसीसीका विषयमा कुनै भ्रम पाल्नु जरुरी नरहेको भन्दै यसले देशको विकासमा महत्वपूर्ण काम गर्ने बताए । ‘यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वाहिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन ।

हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारका कामको रक्षात्मकरूपमा प्रस्तुत भएका उनले नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरी भारतले नक्सा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गरे । ‘आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ । सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो ।

हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।’ सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेसिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तर्राष्ट्रिय विमानस्थलहरूको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन सुरु भएको र संघीय संसद् भवनलगायत राष्ट्रिय आवासहरूको निर्माण सुरु भएको बताए । विश्वको कुनै पनि सुचकांकमा नेपाल नकरात्मकतर्फ नगएको पनि स्पष्ट पारे ।

उनले यती होल्डिङसँग नेपाल ट्रस्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि सुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानुनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गरे । अध्यक्ष ओलीले सरकारविरुद्ध प्रचार आक्रमण जारी रहेकाले यसका विरुद्ध कामले जवाफ दिने पनि बताए ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६०३:५०

झुण्ड्याइनुअघि शुक्रराजको अन्तिम वाक्य: ‘जुद्धशमशेर, मेरो प्राण लिन उत्सुक छ । तर म मर्दिनँ’