काठमाडौँ, माघ १६ गते : ‘जुद्धशमशेर, आज मेरो प्राण लिन उत्सुक छ । तर म मर्दिनँ । मेरो आत्मा अमर छ । यो नश्वर देह मातृभूमिको सेवाका निमित्त अर्पण गर्न पाउनु मेरो सौभाग्य हो । ” एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेख्नुभएको छ, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो । ”
चकमन्न बाग्मती किनार । माघको कठ्याङ्ग्रिँदो चिसो । बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क हेरे । १९९७ साल माघ १० गतेको राति प्रसन्नतापूर्वक फाँसी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्राण त्याग गरेका थिए । छातीमा टाँगिएको थियो, “देशद्रोहीलाई यस्तै सजाय हुन्छ । ” काठमाडाँै सहरका जनता तर्साउन माघ ११ गते दिनभर शुक्रराजलाई रूखमै झुन्ड्याइएको थियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घटनाका तस्बिर आज पनि उत्तिकै ताजा छ । जोशी भन्नुहुन्छ, “शुक्रराजलाई फाँसी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ । पचलीनिर मचलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ । ” गोरखापत्रमा प्रकाशित यस समाचार दीपक श्रेष्ठले लेखेका हुन्।
शताब्दीपुरुष जोशी ७९ वर्षअघिको त्यो मिर्मिरे बिहान सम्झनुहुन्छ, “शुक्रराजको शवमुन्तिर लौरो टेकेर उभिएका थिए, पिता पण्डित माधवराज जोशी । उहाँमा छोराको बलिदानीप्रति गर्व थियो । त्यहाँ कोही बोल्न सक्ने अवस्था थिएन । ” सेतै दाह्री फुलेका ८२ वर्षका माधवराजले छोराको वीरतापूर्ण मृत्युवरणप्रति सम्मान गर्दै व्यक्त गर्नुभएको भनाइ जोशी अहिले पनि सम्झनुहुन्छ, “छोरा हुनु त यस्तो पो, क्याबात छोरा । देशको लागि जे गरिस्, ठीक गरिस् । ”
शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्तादेवी मल्लले आत्मकथामा उल्लेख गर्नुभएअनुसार १९९५ साल माघमा शुक्रराजलाई पक्रिएको चार दिनपछि शुक्रकी श्रीमती मेनकादेवी सुत्केरी हुनुभएको थियो । त्यसको केही दिनपछि नै नवजात छोरी र श्रीमती मेनकादेवीको मृत्यु भएको थियो । आत्मसमर्पणभन्दा फाँसी स्वीकार गर्ने शुक्रराजको निर्णयप्रति बुवा माधवराजले गर्व अनुभूति गर्दै भन्नुभएको थियो, “शुक्र, तिमीलाई ज्यान सजाय दिने बेला यो यो वेदमन्त्र पढेर आफ्नो प्राण विसर्जन गर । स्याबास् बेटा । ”
शुक्रराजको मृत्युपछिको दृश्यलाई भीमनिधि तिवारीले पनि शब्दचित्रमा उतार्नुभएको थियो । भीमनिधि तिवारीले माघ ११ को घटनाबारे लेख्नुभएको छ, “शहीद शुक्रराजको दर्शन गर्न म पचली गएको थिएँ । ठूलो भीडको बीच एउटा फोटोग्राफरले शहीदको फोटो खिच्न लाग्दा पुलिसहरूले उसलाई झपारेर घोक्र्याएर पठाएको मैले देखँे । अनि मलाई सुझ्यो, यो मूर्तिको अवश्य पनि ऐतिहासिक महìव हुन्छ । अनि त्यो काम मैले लिएँ, यानि शब्दचित्र लेख्न थालेँ । ” उहाँले लेख्नुभएको छ, “स्थान पचलीको चौबाटो, पात सबै झरेको, रूखको आग्नेय कोणपट्टिको हाँगामा झुन्ड्याइएका, घाँटी छड्के परेको, आँखा चिम्लेका । ”
विक्रम संवत् २०१२ देखि माघ १६ गतेलाई शहीद दिवस मनाउन थालिएको हो । यद्यपि, हालसम्म मुलुकमा कति शहीद छन् भन्ने यकिन छैन । काठमाडौँ महानगरपालिकाले शहीद दिवस मनाउन थालेको थियो । १९९७ साल माघ १० गते पचलीमा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको थियो । त्यस्तै गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा फाँसी दिइएको थियो । जहानियाँ राणा शासनविरुद्ध राजनीतिक गतिविधि गरेको आरोपमा मृत्युदण्ड पाएका चार सहिदको सम्मानस्वरूप २०१२ सालदेखि माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ ।