टिपर ठक्करबाट महिलाको ज्यान गयो !

काठमाडौँ – टिपरको ठक्करबाट गोरखामा एक महिलाको ज्यान गएको छ। गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङ रहेकी छन्। उनलाई गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिएको थियो।

गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया तामाङको ग १ ख ८०२७ नंबरको टिपर किचेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

भुइँमा लडेकी तामाङलाई टिपरले ब्याक गरेर किचेको स्थानीयहरुको आरोप छ। स्थानीयहरुका अनुसार ठक्कर पछि लडेकी तामाङलाई ब्याक गरी किचिएको थियो। बताइएअनुसार, ज्यान गुमाएकी तामाङ स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै थिइन्।

तामाङको ज्यान गएपछि आक्रोशित स्थानीयहरुले टिपरमा तोडफोड तथा आगजनी गरेका छन्। गोरखकाली क्रसर उद्योगका अन्य टिपरमा समेत स्थानीयहरुले तोडफोड गरेको बताइएको छ।

गोरखकाली क्रसर उद्योग अवैध भएको भन्दै स्थानीयहरुले क्रसर बन्द गराउन पनि माग गरेका छन्। गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएपनि वडानम्बर १० स्थापना गरिएको भन्दै स्थानीयहरुले क्रसर बन्द गराउन माग गरेका हुन्।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालक बीच वार्ताको पहल शुरु गरेको छ भने क्रसरमा ठूलो संख्यामा प्रघरी खटाएको छ।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६०४:४६

ट्रायल पास गरेको केही दिनमै लाइसेन्स पाइने !