छाउगोठको नाममा जनताका घर भत्काइयो भन्दै जंगिए सांसद – ‘सरकारले काम पाएन’ [भिडियो]

काठमाडौँ – सरकारले छाउगोठ भत्काउने अभियान तिब्र पारिरहेका बेला एक सांसदले आपत्ति जनाएका छन्। जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले छाउगोठ भत्काइएको प्रति आपत्ति जनाएका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद महतले छाउपढी उन्मुलन गर्ने नाममा जनताका घर भत्काएर सरकारले अन्याय गरेको आरोप लगाए।

“छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन्। एउटा व्यक्तिको मृ-त्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जनाको एकै होटलमा मृ-त्यु भएको छ, होटेल भत्काउने?”,प्रश्न गर्दै उनले भने।

छाउगोठ भत्काउने नाममा सरकारले जनताको घर भत्काउँदै हिड्नु ठिक नभएको उनले बताए। जिल्लामा भ्रष्टाचार भएको प्रति ध्यान नदिएर सरकार नचाहिने अभियानमा लागेको उनको आरोप छ।

“जिल्लामा भ्रष्टाचार व्याप्त छ, नुन बेचिएका छन्, औषधि बेचिएका छन्। भ्रष्टाचार नियन्त्रण गर्नु पर्दैन ? पुलको बेहाल छ, सडकको बेहाल छ, ठेकेदार कहाँ छन् थाहा छैन। तिनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ ? अस्पतालको अवस्था के छ ? त्यो हेर्नु पर्दैन?”,आक्रोशित हुँदै उनले भने। सरकारले काम नपाएको उनले आरोप लगाए। गृहमन्त्रालयले काम नपाएको र हेरेर मात्र बसेको भन्दै उनले आक्रोश पोखे।

गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिँदै सम्बन्धित जिल्लाहरुका प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको थियो। जससँगै विभिन्न जिल्लाहरुमा छाउगोठ भत्काउने तिब्र पारिएको छ। प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको उपस्थितिमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६०६:२५

चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण