चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द !

काठमाडौँ – यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ ।

अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ ।

विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने
यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्काे दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ ।

प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अबको छ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उनको भनाइ छ । उनले भने, “अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ ।”

झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा उपकरण ल्याइएको थियो । सो उपकरण आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि गत महिनाबाट उपकरण सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । अहिले दैनिक सात÷सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताए । दैनिक २१ घण्टामा उपकरण समयसमयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उनले भने, “अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।”

प्रकाशित : शुक्रबार, माघ १७, २०७६१३:३१

schedule/6/8