“जनताले कांग्रेस र कम्युनिस्ट उस्तै रहेछन् भन्न थाले, नेता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गरौं”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा सम्पत्ति छानबिन गर्नको लागि शक्तिशाली आयोग खडा गरिनुपर्ने माग उठेको छ।

केन्द्रीय कमिटी बैठकका क्रममा गठित १५ वटा समूहमध्ये १३ नम्बर समूहका टोली नेता लेखनाथ न्यौपानेले अध्यक्षद्वयले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रममा यस्तो माग गरेका हुन्।

अध्यक्षद्वयले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुको सम्पत्ति खोजी र छानबिनका लागि शक्तिशाली आयोग गठन गर्न सुझाव दिए।

पार्टीमा गलत प्रवृत्ति झाँगिँदै गएको हुँदा जनप्रतिनिधि र नेताहरुको सम्पत्ति खोजीका लागि शक्तिशाली आयोग बनाइनुपर्ने उनको सुझाव छ।

“राजकीय पदमा बसेकाहरुको सम्पत्ति छानबिन हुनुपर्छ। जनप्रतिनिधि र नेताहरुको सम्पत्ति खोजीका लागि शक्तिशाली आयोग बनाइयोस्। पार्टीभित्र यो वा त्यो नाममा भेदभाव हुने गरेको छ। अब न्यायोचित जिम्मेवारी दिने कुरामा पार्टीले ध्यान देओस्। पार्टीमा गलत प्रवृत्ति झाँगिँदै गएको छ, यसलाई रोक्न आयोग गठन हुनुपर्छ।”,उनले भने।

पार्टीभित्र नवधनाढ्य वर्गको उदय भैरहेको हुँदा जनताले कांग्रेस र कम्युनिस्ट उस्तै रहेछन् भन्ने थालेको उनले सुनाए। यस्तो अवस्थामा कम्युनिस्ट पार्टीको कार्यकर्ता भन्दा जनताबीच जान लाज समेत भएको उल्लेख गर्दै उनले दुखेसो पोखे।

“जनताबीच कम्युनिस्ट पार्टीको कार्यकर्ता भनेर छाति खोलेर हिँड्न गाह्रो भएको छ। कांग्रेस र कम्युनिस्ट उस्तै रहेछन् भन्न थाले जनतालेयो विषयलाई गम्भीररुपमा लिइयोस्। सम्पत्ति कमाएर पार्टीभित्र अभिजात वर्ग बन्न पाइने हो? यसबारे पार्टी गम्भीर हुनुपर्छ। पार्टीभित्र नवधनाढ्य वर्गको उदय भइरहेको छ। यसले कम्युनिस्ट आन्दोलनलाई संकटतर्फ लाँदैछ”,उनले थपे।

प्रकाशित : शनिबार, माघ १८, २०७६०३:२९

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष