एजेन्सी – ३३ वर्ष तर्फ अगाडी बढ्दै गर्दा मेस्सी निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यता केहि दिनमै ३५ वर्ष लाग्दै गरेका रोनाल्डोको पनि लय उस्तै छ।
उमेर ढल्किँदै गर्दा मेस्सी र रोनाल्डोले गरिरहेको प्रदर्शनलाई सामान्य मान्न सकिनन्। यहि असामान्य प्रदर्शनकै कारण मेस्सी र रोनाल्डो हालका लागि विश्वका उत्कृष्ट खेलाडी हुन्।
तर, जारी सिजनको तथ्यांकगत विवरण हेर्ने हो भने मेस्सी र रोनाल्डो भन्दा नेयमार अगाडी देखिएका छन्। हुस्कोर्ड(WhoScored) को तथ्यांकगत विवरण अनुसार जारी सिजनमा नेयमारले मेस्सी र रोनाल्डोलाई पछि पारेका छन्।
हुस्कोर्डले सार्वजनिक गरेको तथ्यांकगत विवरणमा सबै भन्दा शिर्ष स्थानमा ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार फरवार्ड नेयमार छन्।
खेलसंख्या, मैदानमा बिताएको समय, गोल संख्या, असिस्ट संख्या लगायत तथ्यांकलाई आधार बनाएर तयार पारिएको सूचीमा नेयमार शिर्ष स्थानमा छन्।
नेयमरले जारी सिजनमा पीएसजीको लागि १३ खेलमा समान गोल गरेका छन् भने ५ असिस्ट गरेका छन्। यस्तै दोस्रो स्थानमा मेस्सी छन्। तथ्यांकका अनुसार मेस्सीले जारी सिजनमा बार्सिलोनाका लागि १५ खेलमा १४ गोल र ६ असिस्ट गरेका छन्।
सूचीको तेस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले जारी सिजनमा हाल सम्म १९ खेलमा २१ गोल गरेको हुस्कोर्डको तथ्यांक छ। यस्तै जारी सिजनमा १३ गोल गरिसकेका किलियन एम्बाप्पे चौंथो स्थानमा छन्।
इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका सुपरस्टार फरवार्ड रोनाल्डो हुस्कोर्ड सूचीको सातौं स्थानमा छन्। हुस्कोर्डका अनुसार रोनाल्डोले जारी सिजनमा १८ खेलमा १७ गोल गर्नुका साथै २ असिस्ट गरेका छन्।
-एजेन्सी