काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरस आतंकित चीनबाट नेपाली विद्यार्थी फिर्ता ल्याउन सरकार तयार अवस्थामा रहेको बताएका छन्।
शनिबार पर्यटन बार्डमा कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असर बारे गरिएको छलफलका क्रममा मन्त्री भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको जानकारी गराए।
भट्टराईका अनुसार नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा छन्। प्रभावित क्षेत्रका नेपाली विद्यार्थीहरु बारे पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग लगातार जानकारी लिरहेको उनले बताए। हालसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उनको भनाई छ।
“आवश्यक पर्यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तयारी अवस्थामा छन्। दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु। कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ।”,उनले भने।
अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको र आफ्ना नागरिकहरुको उद्धार गरिरहेको बारे बोल्दै मन्त्री भट्टराईले हल्ला भएजस्तो चीनमा भयावह अवस्था नभएको बताए।
चिनियाँ प्रशासनको सम्पर्कमा आफूहरु लगातार रहेको र चिनियाँ अधिकारीहरुले बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएको बताउँदै आफूहरुलाई विश्वस्त बनाएको पनि भट्टराईले जानकारी गराए।
कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। त्यस क्षेत्रमा रहेका अन्य विदेशी नागरिकहरुको सम्बन्धित देशहरुले उद्धार गरिसकेको हुँदा नेपाली विद्यार्थीहरुको पनि तत्काल उद्धार हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन्।