काठमाडौँ – निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । गाँउपालिकाले रंगशाला निर्माणका लागि सय टिपर बालुवा सहयोग गरेको हो।
राष्ट्रिय गौरवको आयोजना भएकोले गाँउपालिकामा उत्खनित बालुवा सहयोग गर्न गरिएको गाँउपालिकाले जनाएको छ। बालुवा बोकेर जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगिसकेको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १५ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल सम्म बालुवा पुर्याउनका लागि नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले सहयोग गरेको छ। समितिले बालुवा निर्माणस्थल सम्म निुशल्क ढुवानी गरेको हो। यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको बताइएको छ।
शनिबार बिहान धादिङबाट गएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर एक कार्यक्रमका बीच बालुवा हस्तान्तरण गर्न लागेको गाँउपालिकाले जनाएको छ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार हाल मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ।
रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको हुँदा हरेक जिल्ला र स्थानीयतहबाट सहयोग हुने उनले विश्वास लिएका छन्।