झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ २०० बिघामा मकैखेती

मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताएका छन्।

“दानाको भन्दा यो चार गुणा सस्तो पर्छ”, उहाँले भन्नुभयो, “साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।” दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च घट्ने अध्यक्ष सिटौलाको भनाइ छ ।

विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि सङ्घले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन शुरु गर्न लागेको छ । साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले रु आठ करोड अनुदान दिने भएको छ भने सङ्घमा आबद्ध किसानको रु चार करोड थप गरी रु १२ करोडको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ ।

जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेनिक’ यन्त्र खरिद गर्न लागिएको अध्यक्ष सिटौलाले बताएका छन् । प्रदेशबाट प्राप्त अनुदानबाट भण्डारण गृह, आवश्यक उपकरण खरिद गरिने जनाइएको छ । साइलेक्स उत्पादनका लागि जिल्लाको मेचीनगर नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका लगायतका स्थानमा करिब २०० बिघामा मकैखेती गरिएको छ । हावा र पानीबाट बचाउनसके साइलेक्स १८ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ ।

हाल भारतको पञ्जावबाट प्रतिकिलो रु १८ मा साइलेक्स आयात हुने गरेको अध्यक्ष सिटौलाले बताएका छन् । सङ्घले उत्पादन गरेको साइलेक्स प्रतिकिलो रु १२ देखि रु १३ सम्म पर्नेछ । यो वर्ष एक करोड किलो साइलेक्स उत्पादन गर्ने सङ्घको लक्ष्य छ । अत्याधुनिक यन्त्र भित्रिएपछि वार्षिक चार करोड किलो साइलेक्स उत्पादन गर्न सकिने अध्यक्ष सिटौलाले जानकारी दिएका छन् ।

सरकारले खाली रहेको जग्गामा मकै खेती गर्न दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिने अध्यक्ष सिटौलाको भनाइ छ । “सरकारले खाली रहेको जग्गा दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । एक हजार बिघा जग्गामा मकैखेती गर्न सकिए त्यसबाट उत्पादन भएको साइलेक्स आठ हजार गाईलाई पुग्नेछ ।

उन्नत जातका बाच्छी उत्पादनका लागि सङ्घले अमेरिकाबाट एबिएस कम्पनीको कृत्रिम गर्भाधारण उपकरण खरिद गर्ने तयारी गरेको छ । “उन्नत जातको बाच्छी मात्रै उत्पादन र गाईको उपचारका लागि आवश्यक तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सङ्घमा झापा, इलाम, ताप्लेजुङका गरी करिब ११५ गाई तथा बाख्रापालक फार्म आबद्ध छन् । प्रदेश नं १ का पशुपालक किसानलाई सङ्घमा आबद्ध गराएर पशु आहार आपूर्ति गर्ने योजना बनाइएको छ । सङ्घले अन्य किसानले उत्पादन गरेको मकैसमेत खरिद गरेर साइलेक्स उत्पादन गर्दै आएको छ ।

प्रकाशित : आइतबार, माघ १९, २०७६०६:३३

राष्ट्रियसभा बैठक: आजको बैठकमा कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह