राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ ।
छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताएका छन् । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शीताबारे विधेयकले बोल्नुपर्ने जनाएका छन्।
सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै कसरी भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताएका छन् । तर सांसद ठगेन्द्र प्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख गरेका छन् ।
आजको बैठकमा कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकको शून्य समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरेका छन् । उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ ।”
काङ्ग्रेसकै रमेशजङ्ग रायमाझीले कोरना भाइसर रोक्न सरकारले चासो दिनुपर्ने बताएका छन् । नेकपाकी डा विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गरेका छन् ।
नेकपाका युटोल तामाङले मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या घटाइएकामा चिन्ता प्रकट गरेका छन् । राजपाका वृषेशचन्द्र लालले सीमा र राष्ट्रिय सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
नेकपाकी मीना बुढाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षक अभाव भएकामा चिन्ता प्रकट गरेका छन् । समाजवादी फोरमकी प्रमिला कुमारीले नागरिकता विधेयक छिटो ल्याउन माग गरेका छन् । नेकपाका शेरबहादुर कुँवरले सुदुरपश्चिमा रहेको छाउपडी प्रथा अन्त्य गराउन आग्रह गरेका छन् ।